आरडीटी र पीसीआर टेस्टको अलमल र वास्तविकता

2020-04-14

२ वैशाख, काठमाडौं । दुई साता अघिसम्म नेपालमा पीसीआर विधीबाट मात्र नमुना परीक्षण गरिन्थ्यो। जसको कारण नमुना परीक्षण थोरै हुने, झण्झटिलो हुने र खर्चिलो पनि थियो ।

नमुना परीक्षणको दायरा नबढाएकाले नेपालमा कोरोना संक्रमितहरु नभेटिएको भन्ने जनस्वासथ्य वैज्ञानिकहरुको व्यापक दबाव आएपछि सरकारले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण गर्ने निर्णय गर्‍यो ।

तर, आरडीटी  टेस्टको सुरुवाती नतिजाले धेरैलाई अलमलमा पारेको छ । केही मानिस आतंकित बने भने धेरैले आरडीटी  टेस्टमा नेगेटिभ आएको कारण सम्भावित संक्रमित समाजमै छुट्ने भएकाले संक्रमणको जोखिम बढी हुने भन्दै अड्कल काटे, खासगरी दुई वटा घटनापछि ।

गत आइतबार बाग्लुङकी  ६५ वर्षीया महिलामा आरडीटी टेस्ट गर्दा पोजेटिभ नतिजा आयो । आरडीटीमा पोजेटिभ आएपछि पीसीआरबाट पुन परीक्षणको लागि उनको नमुना पोखरा पठाइयो  । पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आयो ।

त्यसैगरि कैलालीमा संक्रमण कोरोना पुष्टी भएकी अर्की ६५ वर्षीया महिलाको आरडीटी टेस्ट गर्दा  नेगेटिभ देखियो। तर, पीसीआरबाट जाँच गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भयो।

यी दुबै घटनाले आरडीटी टेस्टपछि पीसीआर टेस्ट गर्नुपर्ने देखाउँछ ।

अहिले नेपालमा प्रयोगमा ल्याइएको आरडीटी किट चीनको ग्वान्जाउ वण्डफो बायोटेक कम्पनीले उत्पादन गरेको ‘वण्डफो’ नामक ब्राण्डको हो। यो किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए/नभएको मात्रै निर्क्योल गर्छ। र, त्यो परीक्षणको नतिजा पोजेटिभ भए शरीरमा संक्रमण छ भन्ने हो ।

सोही कारण संसारभर आरडीटी को विश्वसनीयतामा  प्रश्न छ ।  अन्य मुलुकमा यो किट विशेषगरी अत्यन्तै महामारी फैलिएको अवस्थामा मात्र प्रयोग गरिन्छ ।  किनभने भने यसले छोटो समयमा धेरै जनाको परीक्षण गर्न सक्दछ ।

हामीले आरडीटीको अलमल मेट्न आनुवाशिंक विज्ञ डा. गिरिराज त्रिपाठीलाई ‘आरडीटी टेस्ट र पीसीआर टेस्टले कुन र अवस्थामा उस्तै र कुन अवस्थामा फरक नतिजा दिन्छ ?’ भनेर सोध्यौं ।

उनले  एउटा कागजमा ‘ए,’  ‘बी’ र ‘सी’  लेखेर छुट्टा-छुट्टै क्याटोगोरी बनाए।  ‘ए’ क्याटोगोरीको माथिल्लोतीर ‘पिसिआर’ लेखे भने ठिक तल ‘र्यापिड’ टेस्ट। त्यसैगरि ‘बि’ र ‘सी’को  माथि र तल पनि ‘पीसीआर’ र ‘र्‍यापिड’ नै लेखे।

यति लेखेपछि उनले ‘ए’ क्याटोगोरीमा पहिलो हप्ता भनेर चिनो लगाए। ‘बी’ मा दोस्रो हप्ता र ‘सी’ मा तेस्रोदेखि पाँचौ हप्ता लेखे ।

अर्थात भाइरस मानिसको शरीरमा प्रवेश गरेको अवधिलाई उनले ‘ए’, ‘बी’ र ‘सी’ भनेर विभाजन गरे ।।अनि पहिलो हप्तामा एउटै व्याक्तीको नमुना पिसिआरमा जाँच गर्दा पोजेटिभ आउने र र्‍यापिडमा जाँच गर्दा नेगेटिभ आउने भन्दै पीसीआरमा ‘प्लस’ (पोजेटिभ)  र र्‍यापिडमा ‘माइनस'(नेगेटिभ) चिह्न लगाए।  त्यसैगरी ‘बी’ चरणमा पीसीआर र र्‍यापिड दुबैमा प्लस (पोजेटिभ) चिह्न दिए र, ‘सी’  चरणमा र्‍यापिडमा पोजेटिभ  (पोजेटिभ)  र पीसीआरमा (नेगेटिभ) संकेत गरे।

यसो हुनुको कारण बताउँदै उनले भने, ‘भर्खरै मानिसको शरीरमा भाइरस प्रवेश गरेको अवस्थामा र्‍यापिड टेस्ट किटबाट जाँच गर्दा संक्रमण देखाउँदैन। तर, पीसीआर जाँच गर्दा भने ‘ए’ र ‘बी’ दुबै चरणमा नै  पोजेटिभ देखाउँछ। त्यसैगरी ‘सी’ चरणमा नेगेटिभ । तर, यही प्रकिया र्‍यापिड टेस्टमा गर्ने हो भने ‘सी’  र बी चरणमा पोजेटिभ देखाउँछ भने ‘ए’ चरणमा नेगेटिभ ।’

उनका अनुसार संक्रमणको दोस्रो चरणमा छ भने पीसीआर र र्‍यापिड दुबैको नतिजा मिल्छ तर ‘ए’ र ‘सी’ चरणमा नतिजा मिल्दैन । यस्तो अवस्थामा पीसीआर नतिजा सर्वमान्य हुने उनी बताउँछन् ।

जस्तो पेप्सिकोलास्थित सनसिटी अपार्टमेण्टमा देखिएको पोजेटिभ केसको उदाहरण दिँदै त्रिपाठी भन्छन्, ‘नतिजाले के देखायो भने उनीहरुको र्‍यापिड टेस्ट शरीरमा भाइरस प्रवेश गरेको दोस्रो चरणमा गरिएको रहेछ । सोही कारण पीसीआर टेस्ट गर्दा पनि पोजेटिभ नै देखायो ।’

त्रिपाठीकाअनुसार शरीरमा प्रवेश गरेको भाइरससँग समय बित्दै जादाँ शरीरले एण्टीबडी बनाएर प्रतिरोध गर्दै जान्छ । शरीरमा एण्टीबडी विकास भएर भाइरससँग प्रतिरोध गर्दा मानिसमा ज्वरो आउने, सिकिस्त हुनेजस्ता लक्षणहरु देखा पर्छन् । यो बेलामा र्‍यापिड र पीसीआर दुबै टेस्टको रिपोर्ट पोजेटिभ आउँछ ।

समय बित्दै जाँदा शरीरमा उत्पादन भएको एण्टीबडीले भाइरसलाई निष्क्रिय पार्दै जान्छ । त्यस्तो अवस्थामा मानिसलाई रुघाखोकी लाग्दैन । सिकिस्तबाट मानिस साधारण अवस्थामा फर्कन थाल्छ । यो अवस्थामा उस्ले अरु मानिसलाई भाइरस सार्न सक्दैन ।

तर, शरीरमा भएको एण्टीबडीको कारण र्‍यापिड टेस्ट गर्दा त्यो बेला पोजेटिभ रिपोर्ट आउँछ ।  तर, पीसीआर टेस्ट गर्दा भने नेगेटिभ । उनी भन्छन्, ‘हामीसँग भएको र्‍यापिड किट एण्टी जिन भएको भए ‘सी’ चरणमा जाँज गर्दा पनि नेगेटिभ रिपोर्ट नै आउथ्यो तर ‘एण्टीबडी किट’ भएको कारण तेस्रो चरणमा जाँच गर्दा पोजेटिभ आउँछ ।’

कैलालीमा संक्रमित देखिएकी महिलाको र्‍यापिड टेस्ट सुरुवाती चरणमा गरेको हुनाले नेगेटिभ भएको बताउँदै उनी भन्छन्, ‘पछि ती महिलाको शरीरमा भाइरसको सक्रियता बढ्दै गएपछि उनलाई केही गारो अवस्था सिर्जना भयो । र, पीसीआर गर्दा पोजेटिभ देखियो ।’

विशेषगरी र्‍यापिड टेस्ट महामारी फैलिएको अवस्थामा गरिन्छ । अर्थात्, धेरै भन्दा धेरै मानिस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बेला र्‍यापिड टेस्टलाई नै मान्यता दिइन्छ । किनकी त्यस्तो अवस्थामा पीसीआर गर्न महंगो, ढिलो र झण्झटिलो हुन्छ ।

नेपालमा र्‍यापिड टेस्ट गर्दा कुनै हानी नभए पनि केही अलमल भएको भने उनी स्वीकार्छन्।  भन्छन्, ‘र्‍यापिड टेस्ट गरेर पनि बिरामीको अवस्था र उस्को हिस्ट्री हेरेर फेरि पीसीआर गर्ने मापदण्ड बनाइएको छ । सोही कारण संक्रमितहरु छुट्छन् भन्ने हुन्न । तर, अहिले र्‍यापिड टेस्ट अहिले गर्नु भनेको बेमौसमी नै हो, अहिले त सम्भव भएसम्म पीसीआर टेस्टलाई फोकस गर्नुपर्ने हो ।’

कोरोनाको संक्रमण पत्ता लगाउन प्रयोग हुने पिसीआर  प्रणालीले नमुनामा भाइरसको जैविक तत्व (आर एन ए) छ कि छैन भनेर जाँच्ने गर्छ । यो प्रविधिले थोरै भन्दा थोरै भाइरसको उपस्थिति पनि निर्क्योल गर्न सक्छ र अन्य भन्दा विश्वसनीय पनि छ । भाइरसकै  एक भन्दा बढी विभिन्न जिन पहिचान गर्न सकिने हुनाले पीसीआर प्रविधि सबैभन्दा भरपर्दो मानिन्छ ।

र्‍यापिड टेस्टमा मुख्यतया एण्टीबडीको सहायताले भाइरस संक्रमण छ कि छैन भन्ने जाँच गरिन्छ । भाइरस संक्रमण भएपछि शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ । त्यसका दुई प्रकार इम्युनोग्लोब्युलिन–एम र इम्यूनोग्लोब्यूलिन– जी हुन् । इम्युनोग्लोब्युलिन–एम संक्रमण भएको केही दिनमै उत्पादन हुन्छ भने इम्युनोग्लोब्युलिन– जी संक्रमण भएको केही पछि उत्पादन हुन्छ।

यी दुवै प्रकारका एन्टीबडीको उपस्थितिलाई र्‍यापिड टेस्टले जाँच्ने गर्दछ र कुनै पनि एन्टीबडी भएको खण्डमा कोरोना संक्रमण भएको निर्क्योल गर्दछ।

कोभिड १९ को लागि किन एण्टीजिन र एण्टीबडी टेस्टको जरुरी  हुन्छ ?

यो दुवै विधि र्‍यापिड टेस्टमा प्रयोग हुन्छ।

एण्टी जिन टेस्टले सोझै भाइरसलाई डिटेक्ट गर्छ। एण्टीबडी टेस्टले त्यो भाइरसको विरुद्धमा एण्टीबडी छ की छैन डिटेक्ट गर्छ ।अरु नयाँ किसिमका एण्टीजिन टेस्टहरु पनि विकास भइरहेको छ ।

-Prof. Dr. Giri Tripathi (Source: Online khabar)


0 comments over News



Leave comments
Name* : Email* : Comments* :