COVID19

2020-03-05

नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँछन् । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।

फलस्वरुपः विश्वभरका जनतालाई सचेत गराउन विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘स्वास्थ्यमा आपतकालीन अवस्था घोषणा’ गरिसकेको छ । यस परिदृश्यले विश्वभरका वैज्ञानिक समुदायलाई थप चुनौती खडा गरेको छ । विकसित मुलुकले समेत समाधान खोज्न नसकेका ‘२०१९ नोवेल कोरोना भाइरस’ नेपालजस्तो अल्प विकसित मुलुकमा देखा परेमा हालत कस्तो होला भन्ने पेचिलो विषय देखिएको छ । नेपालमा भाइरस अनुसन्धान गर्ने विज्ञ तथा संस्थाको अवस्था कस्तो छ, एकिन पाइँदैन ।

तर नेपाल सरकारले भाइरस देखिएमा उपचारका लागि उपत्यकामा सीमित अस्पताललाई तोकेको छ । तीन तहको संयन्त्र बनाएर तयारी गरेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले पत्रकारसम्मेलन मार्फत बताएका छन् । सरकारले चीनमा कोरोना भाइरस संक्रमण रहेको क्षेत्रका नेपालीलाई सम्पर्क तथा स्वदेश ल्याउने व्यवस्था गर्ने जनाएको छ । नेपालका मुख्य सहरहरुमा स्वास्थ्य डेस्कको स्थापना तथा आइसोलेसन (पृथकीकरण) सहितका वेडसहितको अस्पताल व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

हालै अमेरिकाको कोलोराडोे विश्वविद्यालयकमा डेंगी तथा कोरोना भाइरस समूहमा काम गरी फर्किएका, त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागमा रिसर्च वैज्ञानिक रुपमा कार्यरत डा. अजितकुमार कर्ण भन्छन्, ‘नोवेल कोरोना भाइरस नेपालमा देखिएमा ‘बीएसएल–३’ सुविधाको प्रयोगशाला चाहिन्छ ।’ ‘बीएसएल–३’ भनेको ‘तीन तहगत जैविकसुरक्षा कवच’ अपनाइएको प्रयोगशाला हो । यद्यपि क्यानडाले चार तहगत जैविकसुरक्षा कवच अपनाएका प्रयोगशाला निर्धारण गरेको पाइन्छ । नेपालमा अधिकांश ‘बीएसएल–२’ स्तरका प्रयोगशालाहरू छन्, डा. अजितकुमार कर्ण बताउँछन् । कोलोराडो विश्वविद्यालयको ‘विएसएल–३’ ल्याबमा उनले काम गरिसकेका छन् । नेपालमा त्यस्ता सुविधाका प्रयोगशाला एकिन छैन भन्छन् विज्ञहरु ।

यद्यपि, नेपाल सरकार स्वास्थ्य विभागअन्तर्गतका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ‘विएसएल–३’ मापदण्ड भएको ल्याब हो भन्छिन् निर्देशक डा. रुना झा ।  निर्देशक झाका अनुसार ‘विएसएल–३’ मापदण्डअनुसारको तीन तहको जैविक सुरक्षा कवच अपनाइएको छ । अहिले ६ जनाले दैनिक काम गरिरहेका छन् । प्रतिदिन दुई सय नमुना परीक्षण गर्न सकिन्छ ।’ यदि थप आवश्यक परेमा २४ घण्टा खटेर काम गर्न तथा जनशक्ति थप्न सकिन्छ,’ निर्देशक डा. झा भन्छिन् ।

 

यद्यपि, विज्ञहरू भने ‘यदि नेपालमा ‘नोवेल कोरोना भाइरस’ फैलिहालेमा जनस्वास्थ्य प्रयोगशालाको जनशक्तिले प्रकोप नियन्त्रण गर्न सघाउ पुर्‍याउने अनुसन्धान गर्ने सामथ्र्य राख्न सक्दैन’ भन्छन् । ‘यदि नेपाली मानिसमा कोरोना भाइरस देखियो भने चीनमा देखिएको नोवेल कोरोना भाइरससँग ‘म्याच’ हुन्छ भन्ने छैन, फरक प्रकारका कोरोना भाइरसमा अनुसन्धान गरेका वैज्ञानिक डा. कर्ण भन्छन्, ‘फरक प्रकृतिको देखिन सक्छ, भूगोल तथा वातावरण र रहन–सहनअनुसार भाइरसले गुण परिवर्तन गर्ने हुँदा त्यही भूगोलअनुसारको अध्ययनअनुसन्धान गर्नुपर्दछ ।’ तर नेपाल त्यो मानेमा-अत्यन्तै पछाडि छ । आवश्यक दक्ष–जनशक्ति पनि कम छन्,’ डा. कर्ण भन्छन्, ‘विश्वस्वास्थ्य संगठनले मान्यता दिएको ‘विएसएल–३’ मापदण्डका प्रयोगशाला नेपालमा छैन ।’ यसका लागि हामीले पहल गर्नु जरुरी छ । यसले भविष्यमा देखिने यस्ता जोखिम न्यूनीकरणमा सहजीकरण गर्न तथा थप खोज–अनुसन्धान गर्न  सहज हुनेछ ।

विभिन्न सञ्चार माध्यममा आएको कुरा बचाउ गर्दै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा थप अनुसन्धानको विषयमा सोचेको छैन भन्छिन् । यसबाट पनि स्पस्ट हुन्छ नेपाल सरकारको जनस्वास्थ्य प्रयोगशालाले उच्चकोटीको अनुसन्धान गर्ने सामथ्र्य राख्दैन । त्यसो त, एक निजी भाइरसमा अनुसन्धान गर्ने कम्पनीसँग ‘रियजेन्ट’ लिएको कुरा पत्रपत्रिकामा आए पनि, हाल भने त्यस्तो अवस्थामा प्रयोगशाला नरहेको निर्देशक डा. रुना झा बताउँछिन् ।

‘नोवेल कोरोना’को अवस्था
सन् २००३ मा देखा परेको सेभेर एक्युट रेस्पिटरी सिन्ड्रम (एसएआरएस) संक्षेपमा ‘सार्स–भाइरस’ पनि अहिलेको ‘नोवेल कोरोना भाइरस’ जस्तै नयाँ भाइरसका रुपमा देखा परेको थियो । त्यसबेला पनि त्राहीमाम जस्तै थिए, डा. कर्ण भन्छन्, ‘सुरुमा सार्स पनि जनावरमा देखा परेका थियो । त्यही भाइरस पछि मानिसमा देखा पर्‍यो ।’
स्वास्थ्यसम्बन्धी जनचासो अभिवृद्धि व्यापक गराउँदा मानिसहरू स्वास्थ्यमा सजक हुन्छन् तर संक्रमण हुने आशंका मानिसहरू सामान्य रुघा लागेको अवस्थामा पनि अस्पताल धाइरहेका हुन्छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका डा. शेरबहादुर पुनले नागरिक दैनिक अनलाइनमा प्रकाशित ‘कोरोना भाइरसको भ्रम’ लेखको आधारमा भन्ने हो भने, नोवेल कोरोना भाइरसले यतिखेर नेपालीजनमा भ्रम सिर्जना गरेको छ । उक्त लेखोटमा सामान्य रुघाखोखी वा नोवेल कोरोना भाइरस कुन हो-मानिसमा अन्योल देखिएको डा. पुनले उल्लेख गरेका छन् ।

यसैबीच, नोवेल कोरोना भाइरस उत्पत्ति क्षेत्र बुहानबाट नेपाल आएको एक विद्यार्थीमा भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । यद्यपि, नेपालमा देखिएको नोवेल कोरोना भाइरस कुन प्रकृतिको हो सरकारले स्पष्ट खुलाएको छैन । यदि चीनमा देखिएको भाइरससँग मेल नहुने भाइरस हो भने त्यसमा सजकता अपनाउनु पर्ने विज्ञहरूको भनाइ छ ।

विश्वस्वास्थ्य संगठनको ‘नोवेल कोरोना भाइरस परिस्थितिजन्य रिपोर्ट–१४’ अनुसार फेब्रुअरी–३, २०२० सम्म विश्वभर १७ हजार ३ सय ९१ जना संक्रमित छन् । विश्वका २४ देशका सूचीमा नेपाल पनि परेको छ । नेपालमा अहिलेसम्म मानवीय क्षति भएको छैन । यद्यपि  ढुक्कले बस्न नहुने विज्ञहरू बताउँछन् ।
अनुसन्धानको अवस्था

सन् २०१९ को डिसेम्बर ३१ मा कोरोना भाइरस समूहअन्तर्गतकै नयाँ रुप ‘नोवेल कोरोना भाइरस’ भन्ने विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरूबाट पुष्टि भैसकेपछि विश्वका वैज्ञानिकहरू ‘यतिखेर नयाँ भ्याक्सिनको खोजीमा’ छन् । चीनमा देखा परेको भाइरसलाई फरक खालको न्यूमोनिया गराउने ‘२०१९ नोवेल कोरोना भाइरस’ भनिएको छ । विश्वभर फैलन सक्ने अवस्था देखिएपछि विश्व स्वास्थ्य संगठलले आपतकालीन स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

यसैबीच नेपाल सरकारले पनि ‘नोवेल कोरोना भाइरस’ नेपालमा प्रवेशमा रोग लगाउन सजकता अपनाउँदै आएको छ । फलस्वरुपः चीनबाट फर्किएको एक बिरामी कोरोनामा संक्रमण देखिएको थियो । उक्त विद्यार्थी उपचारपश्चात् निको भएर घर गएको सरकारले जानकारी गराएको छ । यद्यपि तिनको निगरानी गरिएको छैन भन्छन् विज्ञहरु ।
त्यस्तै, प्र्रसिद्ध स्वास्थ्य वैज्ञानिक जर्नल ‘दि ल्यानसेट’ले सन् २०२० जेनेवरी ३१ मा गणितीय मोडलिङमा आधारित अनुसन्धानको लेख प्रकाशन गरेको छ । त्यसअनुसन्धानको आधारमा चीनमा मात्रै ७५ हजारलाई असर गरेको सम्भाव्यता अध्ययनले देखाएको उल्लेख गरेका छन् । ल्यानसेटले डिसेम्बर ३१, २०१९  देखि जनवरी १८, २०२० सम्ममा चीनमा भाइरसबाट संक्रमित तथ्यांकको आधारमा गणितीय मोडलिङ गरेको उल्लेख गरेको छ ।

भाइरसको स्रोत
नोवेल कोरोना भाइरसको स्रोत अहिलेसम्म अनुमानमै सीमित छ । वैज्ञानिकहरूले नोवेल कोरोना भाइरस चमेरोबाट मानिसमा आएको अनुमान गर्छन् । ‘सार्स’ एक प्रकारको बिरालो ‘सिवेट’ बाट आएको थियो । मर्स–कोरोना भाइरस चमेरोबाट उँटमा आएको थियो । त्यसबाट मानिसमा आएको थियो । तर त्यो पनि चमेराबाट मान्छेमा सर्‍यो कि बीचमा अन्यबाट आयो त्यसको एकिन भैसकेको छैन । यद्यपि, जनावरबाट मानिसमा सर्ने हुनाले घरपालुवा कुकुर वा बिरालोबाट सरेको भन्ने होइन, ‘डा. अजितकुमार कर्ण भन्छन्, ‘कतिपय मानिसमा जनावरबाट आएको भन्ने भ्रम फैलिएको छ । घरपालुवा जनावरबाट फैलिहाल्ने सम्भावना कम भएको अनुसन्धानबाट देखिएको छ ।’

मानिसको र्‍याल वा हाच्छिउँ गर्दा सर्ने ठानिए पनि पछिल्लो समय रोगी मानिसको संसर्गबाट सरेको पाइएको छ । जसका कारण चीनका हुवाए प्रान्तका मानिसलाई घरमै सेल्टर ‘घरभित्रै बस्न’ निर्देशन दिइएको छ । जसले आवत–जावत कम हुँदा भाइरस फैलावट दर कम हुनेछ ।

के भाइरस ल्यावबाट बाहिरिन्छ ?
अमेरिकास्थित कोलोराडो स्टेट युनिभर्सिटीमा अनुसन्धानताका डा. कर्णले जीका, मर्स, सार्स, डेङ्गी, जापनिज इन्सेफ्लाइटिसमा अनुसन्धान गरेको बताउँछन् । त्योसँगै कोरोना भाइरसमा पनि काम गरेको उनी बताउँछन् । उनको अनुसन्धान अनुभवले भन्छन्, ‘यही कोरोना भाइरस नमुनाको अनुसन्धान नेपालमा गर्न सकिन्छ । यसका लागि जनावरमा परीक्षण गर्नुपर्छ । यस्ता भाइरस गाई र सुँगुरमा देखा परेमा झाडापखाला हुन्छ । कुखुरामा श्वासप्रश्वासमा समस्या देखिन्छ ।

डा. कर्ण भन्छन्, ‘यदि त्यस्ता भाइरस एक देशबाट अर्को देशमा जाँदा क्षतिको अनुमान गर्न जनावरमा परीक्षण अनुसन्धान गरिन्छ । त्यसका लागि सम्बन्धित देशका प्रयोगशालामा काम गर्नुपर्छ । यसअघि पनि नेपालमा कोरोना भाइरस कुकुर र बिरालोमा भेटिइसकेको छ । तर चीनको बुहानमा देखिएको ‘नोवेल कोरोना भाइरस’ भने होइन  भन्छन् डा. कर्ण ।

उनका अनुसार प्रयोगशालामा पनि यस्ता भाइरस जेनेटिक म्यानुपेलेसन गर्न सकिन्छ । त्यस्ता भाइरस विभिन्न संस्थासँगको सहकार्यमा हुन्छन् । जनावर मोडलमा गरिन्छ–अन्तर्राष्ट्रिय आउट ब्रेक हुँदा भाइरसलाई मारेर ‘आरएनए/डीएनए’ प्रयोगशालामा परीक्षण गरिन्छ । यद्यपि जानकारहरु ल्याबबाट बाहिर निस्कने सम्भावना हुन्छ भन्छन् । जानकारअनुसार प्रायोगशालामा सजगता नअपनाउँदा ‘स्मलपक्स भाइरस’ सोही प्रयोगशालामा अनुसन्धानरत विद्यार्थीमा सरेको पाइएको थियो ।

यसैकारण हाम्रा प्रयोगशालाहरु गुणस्तर हुन जरुरी छ विज्ञहरु भन्छन् । एक जानकार भन्छन्, ‘अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले जानीजानी त्यस्तो गर्दैनन् ।’ अहिले देखा परेको भाइरस त्रिविमा अनुसन्धानरत वैज्ञानिक डा. अजितकुमार कर्ण ‘नोवेल कोरोना भाइरस ल्यावबाट आएको होइन भन्छन् । यस्ता भाइरस प्राकृतिक रुपमा आउँछन् । विज्ञहरुका अनुसार ‘चीनमा ठूलो मात्रामा जनावरहरू पाल्ने गरिन्छ । मानिसको संख्या पनि अत्यधिक छ । त्यसले जनावरहरूमा विकसित भएको भाइरस मानिसमा सर्नसक्ने सम्भावना बढी हुनेछ ।’

कोरोनाको अन्त्य ?
त्रिविका रिसर्च वैज्ञानिक डा. कर्ण भन्छन्, ‘कोरोना भाइरसले क्षणभरमा ज्यान लिने भने होइन । भाइरसले मानिसको ज्यान लिन समय लाग्छ । अनुसन्धानले पनि यसै भन्छ । उनी थप्छन्, ‘निश्चित समयपछि आफैँ हराएर जान सक्छ ।’

यस्तै भाइरस, पोर्टारिको र दक्षिण अमेरिकामा सन् २०१५–१६ मा देखिएको जीका भाइरस पनि निश्चित समयपछि कम हुँदै गएको थियो । अध्ययन अनुसन्धानले यस्ता निश्चित समयमा मात्र भाइरस प्रस्फुटन हुने गर्दछ । आफू बाँच्ने अनुकूल नभएपछि विलुप्त हुन्छ । त्यस्तै, ‘सार्स भाइरस’ फेब्रुअरी महिनामा फैलिएको थियो । मार्चभर मानिसलाई घरमै बस्नु भनियो । त्यो पनि पछि क्रमिक रुपमा घटेको पाइएको थियो । अन्तर्राष्ट्रिय वैज्ञानिकहरु भन्छन्, ‘नोवेल कोरोना भाइरस पछि सामान्य भाइरसको रुपमा विकसित हुन्छ ।’ अहिले यसै भन्न सकिँदैन, तर ‘एचवानएनवान फ्लु’ जस्तै सिजनल कोरोना फ्लुको रुपमा देखापरेको भाइरससरह ‘नोवेल कोरोना भाइरस’ रहँदा सामान्य हुन सक्छ । यद्यपि, नेपालले यस्ता भाइरस छिर्न नदिनु उत्तम देखिन्छ ।

‘वान हेल्थ सोलुसन’ अनुसार काम गर्नुपर्छ

कोरोना भाइरसले ‘लोअर रेस्पिटरी ट्रयाक’मा पर्ने फोक्सोको सेलमा आक्रमण गर्दछ । त्यसपछि रगतको माध्यमबाट शरीरका अन्य भागमा जान्छ । ‘सेल डेथ’ हुन थाल्छ । आफ्नै सेल डेथ गराएर शरीरले रोगप्रतिरोध क्षमता देखाउँदा कोषिका मार्ने गर्दछ । शरीरमा फैलावट कम गर्न यस्तो प्रक्रिया अपनाउँछन् । कोरोना भाइरस सर्ने भनेको, श्वासप्रश्वास नाकबाट, र्‍याल वा मानिसदेखि मानिसमा सरेको पाइएको छ ।

नेपाल प्रवेश गर्ने हवाई वा जमिन मार्गबाट आउने मानिसमा निगरानी १४ दिनसम्म निगरानी हुनुपर्दछ । अहिले स्वास्थ्यकर्मीहरुले खकारको नमुना लिइरहेको छ । संक्रमित क्षेत्रबाट आउने मानिसको थर्मल स्क्यान गरिरहेका छन् । तिनीहरुको ३८ डिग्रीभन्दा माथि शरीरको तापक्रम भएमा निगरानीमा राख्नुपर्दछ । हाम्रा अस्पतालमा ‘आइसोलेसन वार्ड’ कति छन्, त्यसको एकिन विवरण राख्नुपर्छ ।

यदि संक्रमित क्षेत्रबाट आउनेमा झाडापखला लागेको छ, भने त्यसको पनि नमुना पनि संकलन गरेर अनुसन्धान गर्नुपर्दछ । यदि नोवेल कोरोना भाइरसका लक्षण देखिएमा संक्रमित मानिस गएको स्थानहरूमा भएका जनावरहरूको नमुना लिएर अनुसन्धान गर्नुपर्दछ, ताकि अन्य जनावरहरूमा नफैलियोस् भन्नका लागि । यदि जनावरमा फैलियो भने भयावहको स्थिति आउन सक्छ ।

‘वान हेल्थ सोलुसन’ भन्ने कुरा आइरहेका छन् । यसकारण अबको अनुसन्धान भनेको फरक खालका रोग देखापरेको समस्या समाधान गर्न वैज्ञानिक, भेटेरियन, मेडिकल प्रोफेसनल, तथ्यांकशास्त्री, गणितिज्ञ, मानवशास्त्री, अर्थशास्त्री, समाजशास्त्री, इपिडेमोलोजिस्टको संयुक्त समूहले नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बहुआयामिक समूह बनाएर गर्नुपर्दछ । यस्तो विषयमा सरकार र निजी क्षेत्रले मिलेर काम गर्न सक्छ । नोवेल कोरोना भाइरस नेपालमा आउँदा कति असर गर्दछ, त्यसको ‘प्रक्षेपण’ हुनुपर्दछ । मानवशास्त्री र समाजशास्त्रीय हिसाबमा हेरिनुपर्दछ । नेपालको ल्याबको स्थिति कस्तो छ त्यसको क्षमतामा विचार गरिनुपर्दछ । परीक्षणका बेला ल्याबबाट अनुसन्धानकर्मीमा सर्‍यो भने राम्रो हुँदैन, त्यसकारण विश्वस्वास्थ्य संगठनले प्रमाणित गरेको ‘बीएसएल–३’ प्रयोगशाला हुनुपर्दछ ।
(अमेरिकास्थित कोलोराडो विश्वविद्यालयमा ‘विएसएल–३’ प्रयोगशालामा ‘कोरोना तथा डेंगी भाइरसमा काम गरेका अनुसन्धानकर्मी)

 

 

https://nagariknews.nagariknetwork.com/news/119843/?fbclid=IwAR1lUpthjF5awGX09dTUM1KTuNAl9flR1eYh-3SAlCbwzAeZEMwWOMF0uG0


0 comments over News



Leave comments
Name* : Email* : Comments* :